नेकपा माओवादीको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएलले हिजो नियन्त्रणमा लिएको व्यवसायी सीताराम प्रसाईलाई आज खुला मंचमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
आज दिउँसो दुई बजे राजधानीको खुला मंचमा सञ्चारकर्मीमाझ प्रसाईलाई सार्वजनिक गर्दै वाइसीएलका उपत्यका इन्चार्ज सागरले आर्थिक अनियमितता गरेर पनि खुलेआम हिडेर राज्यको कानुनको उपहास गरेकाले आफूहरुले उनलाई नियन्त्रणमा लिएको बताउनुभयो ।



उहाँले राष्ट्र बैंकले गत भदौमा पक्राउ गर्न प्रहरीलाई पत्रचार गरेपनि दल, दरवार र सुरक्षाकर्मीकै संरक्षणमा खुलेआम हिडेका त्यस्ता ठगलाई कारवाही गराउन आफूहरुले सहयोग गरेको बताउनुभयो । सञ्चारकर्मीलाई वितरण गरिएका विज्ञप्तिमा वाइसीएलले ७० करोडको लगानीमा सञ्चालन भएको घरेलु तथा सना उद्योग विकास बैंक प्रसाईकै कारण बन्द भएको कमसल मुल्यको जग्गा, कलकारखाना, धितो राखी नियम विपरीत ऋण लिने गरेको, नक्कली लालपूर्जा बनाएर ३ करोड रुपैंया भन्दा बढी ऋण लिन सहयोग गरेको, आफू जमानी बसी विना धितो रकम निकाल्न सहयोग गरेको लगायतका ११ वटा आरोप लगाइएको छ ।
सोही क्रममा सिताराम प्रसाईले भने आफूले कुनैपनि अपराध नगरेको र प्रहरीले पक्राउ पूर्जी पनि जारी नगरेको दावी गर्दै अपराध पुष्टि भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताए ।
सरकारले पूर्जी काटेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भन्दै वाइसीएलले हिजो उनलाई नियन्त्रणमा लिएको थियो । आजै प्रसाईलाई कानुनी कारवाहीका लागि वाइसीएलले हनुमान ढोका प्रहरीलाई बुझाएको बुझिएको छ।
खुला मञ्चमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनलाई कालोमोसो लगाउनुपर्ने भन्दै भिड अघि बढेपछि वाइसीएलले गाडीमा हालेर लगेको थियो । पत्रकार सम्मेलन स्थलमा उनीविरुद्ध चर्को नाराबाजीसमेत भएको थियो ।