


सात साल भन्दा ठुलो क्रान्ति भएकै छैन -राम चन्द्र पौडेल
ईन्द्र क्षेत्री
बेल्जियम ।
३१।१२।२००८
नेपाली कांग्रेस का उपसभापती रामचन्द्र पौडेलले नेपालको ईतिहासमा २००७ सालको जत्रो परिवर्तनकारी क्रान्ति कहिल्यै नभएको बताउनु भएको छ ।
उहांले उक्त कुरा नेपाली जनसंपर्क समिती बेल्जियमले नोवेम्बर २९ तारिखका दिन आयोजना गरेको अन्तरकृयालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । १०४ वर्षे जहानिया राणाशासनको अन्त्य ,नागरिक स्वतन्त्रता ,बहुदलीय प्रजातान्त्रिक व्यवस्था ,स्वतन्त्र न्यायपालिका ,नागरिक अधिकार को ग्यारेन्टी, प्रेस स्वतन्त्रता जस्ता आधारभुत लोकतान्त्रीक मुल्यहरुको स्थापना २००७ कै क्रान्तिले गरेको तथा सामाजलाई जकडेर बसेका सामन्ती मुल्य मान्यताहरु छुवाछुत , जातीय बिभेद ,तथा बिभिन्न सामाजिक कुरिती, कुसंस्कार र असमानता विरुद्धको चेतना ००७ सालकै क्रान्तिको उपलव्धी हो भन्दै उहांले जसको जोत उसको पोत,राज्य-रजौटा को उन्मुलन ,सहकारी आन्दोलन ,शिक्षा स्वास्थ्य र रोजगारीमा सुलभ पहुंच जस्ता समाजवादी एजेन्डाहरुको उठान पनि २००७ सालमै गरिएकोले त्यसबाहेक नयां हालसम्मा केही नभएको उल्लेख गर्नु भयो ।
सम्बोधनको क्रममा उहांले अगाडि भन्नु भयो - क्रान्तिका नाममा माओवादीले ठुलो धनजनको क्षत्ती गर्योा तर रिङ्गदै घुम्दै रुम्जाटार भनेजस्तो ००७ सालकै सेरोफेरोमा आएर अडिएको छ । माओवादीले शान्तिपूर्ण जन-आन्दोलनले मात्र २४० वर्षे राजातन्त्रको अन्त्य संभव भएको सत्य लाई अपव्याख्या गरी हिंसाको औचित्य साबित गर्न खोजेको छ । बाह्र बुंदे देखी हालसम्म गरिएका सम्झौता र प्रतिवद्धताहरु माओवादीहरुले पूरा गरेका छैनन उल्टै सरकारमा बसेर बन्दुक उठाउने धम्की दिन थालेका छन । कब्जा गरिएका सम्पत्ती फिर्ता भएको छैन ,वाइसिएल को अर्ध सैनिक संरचना भंग भएको छैन,राज्यका हरेक क्षत्रमा माओवादी हस्तक्षप ब्यापक पारीएको छ । प्रधानमन्त्री प्रचण्डको बोलिको ठेकान छैन । जहाँ जे बोल्दा वाह-वाहि हुन्छ त्यही बोल्छन । नेपाली कांग्रेसले सरकारको काममा अहिले सम्म कुनै बाधा पुर्याएको छैन । हामीले बन्द ,हड्ताल, ढुङ्गा मुढा जस्ता कुनैपनी कृयाकलाप गरेका छैनौ । उनलाई प्रतिपक्षले काम गर्न दिएन भनेर सेफद झुठ बोल्न सुहाउदैन । कांग्रेसले व्यवस्थापिका संसदमा सरकारका गलत कामको विरोध गर्छ तर संविधान सभामा मिलेर अगाडी बढ्छ । उहांले अगाडि भन्नु भयो- मुलुकको अग्रगतिका लागि सम्पन्न भएका हरेक आन्दोलन र क्रान्तिहरुको अगुवाइ गर्ने पार्टी नेपाली कांग्रेसलाई यथास्थितिवादी भन्नु बेइमानी हो । मुलुक ,जनता र लोकतन्त्र प्रती समर्पित शक्तिलाई प्रधान शत्रुको रुपमा चित्रण गर्नु अधिनायकबादको संकेत हो ।
कार्यक्रममा नेपाली कांग्रेस बिदेश बिभाग सदस्य रमेश धमलाले हामी आफुलाई लोकतान्त्रीक अभियानको अभिभावक दावी गर्नेहरुले हामी स्वयम कत्तिको प्रजातान्त्रीक छौं र कत्तिको पद्धतिसंगत ढंगले सन्चालित छौं भनी आत्म मुल्याङ्कन गर्ने बेला भएको छ भन्नुभयो । नेपाली कांग्रेस मा रहेको मपाइत्वबाद बिदेशमा पनि हावी रहेकोमा उहांले दुक्ख ब्यक्त गर्नु भयो । त्यसै गरी उहांले यूवा चाहना र स्पिरिटलाई आत्मसात गर्न नसक्ने हो भने ईतीहांस बोकेको पार्टीको झन दुर्दशा हुन सक्ने तर्फ सचेत गराउनु भयो । यूरो कांग्रेस संयोजक दिल गुरुङले ०४६ पछी गिरिजाप्रशाद कोइरालाको नेत्रित्वमा कांग्रेस सरकारले शुरु गरेका बिकास निर्माण र आमूल परिवर्तनकारी कार्यक्रमहरुमा बिभीन्न समयमा बिभिन्न शक्तिहरुले अवरोध पुर्याएकोले मुलुकले अहिले यो अवस्था भोग्नु परेको बताउनु भयो । नेपाली दुतावासका मिनिस्टर काउन्सिलर दिपक धितालले नेपाल र नेपालीको हितमा नेपाली जनसंपर्क समितिले अगाडी सारेका हरेक कार्यक्रममा दुतावासको सहयोग र शाहकार्य रहने बताउनु भयो । त्यसै गरी जनप्रगतिशील मंचका प्रतिनीधी प्रेम पाठकले बिगतमा बिभिन्न आन्दोलनहरुमा नेपाली कांग्रेसले नेत्रित्व गरेको र वामशक्तिहरुले सहयोगात्मक भूमिका निर्वाह गरेको स्मरण गर्दै अब वाम शक्तिको नेत्रित्वमा कांग्रेसले सहयोगी भूमिका निभाउनु पर्ने बेला भएकोले सम्विधान निर्माण कार्यमा सबै दल एक भएर जानुपर्दछ भन्नु भयो । त्यस्तै NRN बेल्जियमका अद्यक्ष पि जी शेर्पाले नेपालीहरु प्रदेशमा सुख सयलमा मात्र छैनन उनिहरुमा मुलुक छोड्नुपर्दाको पीडा पनि छ भन्दै नयाँ नेपाल निर्माणमा प्रबासी नेपालीले पनि शाहभागी हुन पाउने अवसर दीनु पर्दछ भन्नुभयो । कार्यक्रममा NRN शह्संयोजक जानकी गुरुङ्ले गैर आवासीय नेपालीहरु नेपाल जांदा पर्यटकको रुपमा नभै नागरिकको रुपमा जान पाउनु पर्छ भन्नु भयो । ज्ञात अज्ञात शहीदहरुप्रती एक मिनट मौन धारणबाट शुरु भएको सो कार्यक्रमको सभापतित्व गंगाधर गौतमले र संचालन महामन्त्री सुवाश जोशीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाद्यक्ष माधव सापकोटाले, धन्यवाद ज्ञापन अर्का उपाद्यक्ष प्रेम गुरुङ्ले र ब्याच बितरण पुनम शर्माले गर्नु भएको थियो ।