
सुरक्षित आप्रावासका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको वैदेशिक रोजगारलाई सुरक्षित,सहज,सुलभ, मर्यादित र उत्तरदायीपूर्ण बनाउँदै लग्नुपर्नेमा जोड दिइयो । कार्यक्रममा वैदेशिक रोजगारका लागि नेपालबाट करिब १४ लाख नेपाली विदेशिएका बताइयो । तीमध्ये ७५ हजार नेपाली महिला कामदारका रूपमा विभिन्न देशमा गएकोका छन् ।
अनुमानित एक खर्ब रुपैयाँ वाषिर्क रेमिटेन्सका रूपमा नेपाल भित्रिने गरेको छ भने यसमा महिलाको योगदान ११ प्रतिशतभन्दा बढी रहेको छ । हरेक दिन ६ सय मानिस वैदेशिक रोजगारीका लागि जाने गरेको र भारत हुँदै जानेको सङ्ख्या पनि २ सयको हाराहारीमा छ ।
बर्सेनि पाँच लाख युवायुवती रोजगारीका लागि श्रम बजारमा आउने गरेका छन् । नेपालमा भएका उद्योगधन्दा, कलकारखाना र सङ्घसंस्था तथा सरकारी सेवामा न्यून मात्रामा युवायुवतीले रोजगारीका लागि मौका पाउने भएकाले सहरी तथा ग्रामीण क्षेत्रका नेपालीहरू जीवनयापनका लागि रोजगारीका सिलसिलामा विदेश जाने गरेको देखिन्छ ।
एक वर्षअघि पैँतीस सङ्घसंस्थाको भेलाले सुरक्षित आप्रावासका लागि राष्ट्रिय सञ्जाल गठन गरी वैदेशिक कामदारहरूका हितको सुनिश्चितताका लागि वकालत गर्ने र आप्रावासी महिला कामदार तथा तिनका परिवारका सदस्यहरूको हितलाई प्राथमिकता दिई काम गरेको देखिन्छ । सञ्जालले संयुक्त राष्ट्रसङ्घको आप्रावाससम्बनधी महासन्धि,१९९० लाई नेपालले तुरुन्त अनुमोदन गर्न, महिलाहरू बढी जोखिममा परेकाले तिनका लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ ।
वैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदूतावासमार्फत संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चितता, वैदेशिक रोजगारमा बढ्दो ठगी रोक्न एवम् श्रम सहचारी तुरुन्त नियुक्त गरी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न पनि सञ्जालले माग गरेको छ । पत्रकार सम्मेलनमा सञ्जालका मन्जु गुरुङ, सरु जोशी, गणेश गुरुङ र सोम लुईंटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्नुपरेका समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।
Nuk ka komente:
Posto një koment