e enjte, 10 maj 2007

नेपाल महिला संघको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सबै वर्गको अधिकार सुनिश्चित गर्न संविधानसभाको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ।

आज राजधानीमा कांग्रेस भातृ संगठन नेपाल महिला संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाले नै महिला, आदिवासी जनजाति, दलित, मधेशी तथा पिछडिएकाहरुको हक सुनिश्चित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले निर्वाचनपछि महिलाहरुले पुरुषसरह अधिकार पाउने दावीसमेत गर्नुभयो । उहाँले यतिबेला सबै पक्ष संविधानसभा रुपी जरो बलियो बनाउन लाग्नुपर्नेमा टुप्पो समाउन लागेको टिप्पणी गर्नुभयो ।


राजधानीको राष्ट्रिय सभागृहका जारी महाधिवेशनको उद्घाटन सत्रका बोल्दै शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले लोकतन्त्र प्राप्तिपछि महिला हक अधिकारका लागि महत्वपूर्ण नीति नियम बने पछि मुलुक संक्रमणकालमा रहेकाले कार्यन्वयनमा कठिनाई भएको बताउनुभयो ।

त्यसैगरी कांग्रेस उपसभापति सुशिल कोइरालाले सरकारमा सामेल भएर पनि माओवादीले आतंक फैलाउने काम गरेको भन्दै आफ्नो व्यवहार सच्याउन माओवादीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला संघकी अध्यक्ष मिना पाण्डेले महिला हकहितका लागि गरिएका घोषणा व्यवहारमा लागू गर्न माग गर्नुभयो ।

देशभरका ६ सय बढी प्रतिनिधि सहभागी रहेको महिला संघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा संविधानसभा निर्वाचन, राज्यका विभिन्न निकायमा महिलाको सहभागिता, महिला हकहित, लैंगिक समानतालगायतका विषयमा छलफल हुने संघले जनाएको छ।

Nuk ka komente: