e martë, 25 dhjetor 2007

राजेन्द्र महतो अहिले पनि सरकारको मुख्य वेबसाइटमा मन्त्रीकै रूपमा


झन्डै तीन महिनाअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएका राजेन्द्र महतो अहिले पनि सरकारको मुख्य वेबसाइटमा मन्त्रीकै रूपमा छन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट ओपीएमसीएम डट जीओभी डट एनपीमा महतोको नाम मन्त्रीकै रूपमा रहेको छ।

त्यस्तै तीन साताअघि मन्त्रीबाट राजीनामा दिएका महन्त ठाकुर, तीन महिनाअघि राजीनामा दिएर पनि सोमबार मात्र स्वीकृत भएका माआवादी नेताहरू कृष्णबहादुर महरा, हिसिला यमी, देव गुरुङ र खड्गबहादुर विश्वकर्माको नाम पनि मन्त्री परिषद्का सदस्यको रूपमा रहेको छ।

मन्त्रीहरूको मात्र होइन, सरकारी उच्च ओहोदामा रहेका प्रशासकहरूको नाम पनि सरकारी वेबसाइटमा जुन स्थानमा कार्यरत हो, त्यसमा देखिँदैन।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव नारायणप्रसाद सिलवाल मन्त्रिपरिषद् सचिवालयबाट सरुवा भएर आएको दुइ महिनाभन्दा बढी भए पनि सरकारी वेबसाइटमा उहाँको नाम मन्त्रिपरिषद्को सचिवालयको सचिवमा रहेको छ भने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको वेबसाइटमा पनि उहाँको नाम सो मन्त्रालयको सचिवको रूपमा रहेको छ।

यस्तै विभिन्न मन्त्रालयका प्रवक्ताका बारेमा सरकारी वेबसाइटमा राखिएका विवरण पनि नमिल्ने अवस्थामा रहेका छन्। विवरणमा राखिएका प्रवक्ता कोही सचिव भइरहेका छन् भने कोही विदेशमा राजदूत।

विभिन्न मन्त्रालय र निकायले वेबसाइट अद्यावधिक गर्ने जिम्मा कन्सल्टेन्सीलाई दिने गरेका छन्। तर कन्सल्टेन्सीले समयमा अद्यावधिक नगर्ने कारणले पनि अधिकांश सरकारी वेबसाइटमा पुरानै विवरणहरू रहेको अधिकारीहरूको भनाइ पाइएको छ।

Nuk ka komente: