
श्रीकृष्ण अष्टमी आज भगवान कृष्णको पुजाआजा गरी मनाईदैछ। पाटनको कृष्णमन्दिर लगायत देशभरीका कृष्णका मन्दिरहरुमा कृष्णको दर्शन तथा पुजाआजा गर्न दर्शनार्थीहरुको बिहानैदेखि भिड लागेको छ। हिन्दू धर्मशास्त्र अनुसार कंशले आफ्नी बहिनी देवकीको आठौं सन्तानबाट आफ्नो अन्त्य हुने भविष्यवाणी सुनेर बहिनी र ज्वार्इंलाई कैद गरेका थिए। उनीहरुका सन्तान समाप्त पार्दै जाने क्रमममा वासुदेव र देवकीका आठौं सन्तानका रुपमा द्वापरयुगमा धर्मको उत्थानका लागि भगवान् कृष्णको अवतरण आजै मध्यराती मथुराको बन्दीगृहमा भएको मानिन्छ।
अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई संरक्षण दिन भगवान् विष्णुले लिएका दस अवतारमध्ये आठौं अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई 'मोहरात्री' पनि भनिन्छ।
कङ्शको आदेशअनुसार त्यस दिन जन्मेका सबै बालकलाई विषाक्त स्तनपान गराउँदै हिंडेकी राक्षसी पूतनालाई बालक श्रीकृष्णले उसको स्तनबाट रगत समेत चुसी संहार गरेको पौराणिक कथन छ।
त्यसैका आधारमा पूतनाको प्रतिकको रुपमा लाखेलाई श्रीकृष्णको रथ यात्रासँगै नगरपरिक्रमा गराई नागपञ्चमीदेखि सुरु गरिएको सो लाखेनाच आजैका दिन समाप्त गरी लाखेलाई सेलाउने चलन पनि रहेकोछ।
आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्नुका साथै समाजलाई शान्ति, सुव्यवस्था प्रदान गरी महाभारतमा कौरवरुपी अन्यायी पक्षसँग जुधेर समाज उयोगी काम गर्न तथा परोपकारमा लाग्न मार्गदर्शन गरेको मानिन्छ।
भगवान् श्रीकृष्णको निःसृत गीतादर्शन निष्काम कर्मयोगलाई अंगालेर उन्नतिको मार्गमा अघि बढ्न पे्ररणा दिने अनुपम चिन्तनका रुपमा विश्व सामु परिचित छ।
प्रधानमन्त्री कृष्णमन्दिरमा
राजा जाने परम्परा तोड्दै राजकिय सम्मानका साथ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आज पाटनको कृष्ण मन्दिर जानु भई प्रसादग्रहण गर्नु भएको छ। कृष्ण जन्माअष्टमीको अवसरमा राष्ट्र प्रमुखका हैसियतल प्रसाद ग्रहण गर्नका लागि प्रधानमन्त्री कोइराला कृष्णमन्दिर पुग्नुभएको हो। प्रधानमन्त्री कोइराला अघि साँडे ८ बजे कृष्णमन्दिर जानु भई प्रसाद ग्रहण गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाको लागि सरकारले विषेश सुरक्षा ब्यवस्था मिलाएको थियो। महानगरीय प्रहरी आयूक्तको कार्यालयले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको सुरक्षाका लागि जनपद, सशस्त्र र ट्राफिक प्रहरी गरी ५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो।
जसअनुसार ३ सय जनपद, १ सय ४० सशस्त्र र ६० जना ट्राफिक प्रहरी खटाइएको थियो।
यसअघि राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखका रुपमा कृष्णमन्दिरमा गएर प्रसाद ग्रहण गर्ने चलन थियो।
जनआन्दोलन २ को सफलतासँगै राजा ज्ञानेन्द्रको सांस्कृतिक अधिकारसमेत खोसिएपछि राजा जाने गरेका संास्कृतिक समारोहहरुमा प्रधानमन्त्री जाने गर्नुभएको छ।
राजा ज्ञानेन्द्रले कृष्ण मन्दिर जाने इच्छा देखाउँदै सुरक्षाको माग गरे पनि सरकारले अस्वीकार गरेको छ। राजा ज्ञानेन्द्रले आज ४ बजेर ४५ मिनेटमा कृष्ण मिन्दर जानेगरी प्रधानमन्त्री कोइरालालाई पत्र पठाएका थिए। तर प्रधानमन्त्री कोइरालाले सुरक्षादिन नसक्ने भन्दै प्रतिउत्तर पठाउनु भएको स्रोतले बताएको छ।
Nuk ka komente:
Posto një koment