e hënë, 23 prill 2007

लोकतन्त्र दिवस



मुलुकमा लोकतन्त्र स्थापना भएपछि पहिलो लोकतन्त्र दिवस भव्य रूपमा मनाउन आजदेखि सरकार र नागरिक समाजले छुट्टाछुट्टै कार्यक्रम तय गरेका छन्। आजदेखि लगातार तीन दिनसम्म मनाइने लोकतन्त्र दिवसमा सरकारले सबै सरकारी कार्यालयमा साँझ दीपावली गर्ने भएको छ भने सर्वसाधारणले पनि घरघरमा दीपावली गर्दै खुसीयाली मनाउन सरकारले आह्वान गरेको छ। भोलिको दिन जनआन्दोलनले सफलता हासिल गरेको दिन भन्दै सरकारले बिहान १०ः३० बजे सैनिक मञ्च टुँडिखेलमा सम्पूर्ण सरकारी, अर्धसरकारी र सर्वसाधारणलाई भेला हुन सूचित गरेको छ। भोलि सरकारले हेलिकोप्टरबाट पुष्प वर्षा गर्नेछ। सैनिक परेड, धून, कवाजसमेत प्रदर्शन गर्ने जनाएको छ। सरकारले कर्मचारीलाई पहिलो लोकतन्त्र दिवस मनाउन भोलि सरकारी बिदासमेत दिने भएको छ। त्यसैगरी सरकारले जनआन्दोलनका घाइतेलाई भोलि परिचयपत्र प्रदान गर्ने भएको छ। यसैगरी लोकतन्त्र दिवसका अवसरमा सहिदका नाममा विभिन्न सङ्घसंस्थाले तीनै दिन पूजापाठ लगाउने भएका छन्। यता नागरिक समाजले पनि देशभर नै दललाई सचेत तुल्याउँदै लोकतन्त्रको आन्दोलन जारी छ भन्ने मूल नारा लिएर कार्यक्रम गर्ने भएको छ। आज दिउँसो १ बजे राजधानीको प्रज्ञा भवनमा समाजले गतवर्षको समीक्षा गर्न विचार गोष्ठीको आयोजना गर्दैछ। गोष्ठीमा नागरिक समाजका अगुवाले दललाई खबरदारी गर्दै लोकतन्त्र आएको एक वर्षमा कहाँ के-के त्रुटि भयो भन्नेतर्फ ध्यान दिने आग्रह गर्ने भएका छन्। गोष्ठीमा जनचाहनाको मूल लक्ष्य बनेको संविधानसभाको निर्वाचन जेठ/असारमा किन हुन सकेन भन्नेबारे समीक्षासमेत गर्ने बताइएको छ।त्यसैगरी आजै साँझ माइतीघर मण्डलामा जनआन्दोलनका बेला बनाइएका वृत्तचित्र र फोटो प्रदर्शनी गरिनेभएको छ। नागरिक समाजले भोलि वसन्तपुरमा विशाल नागरिक सभा गर्ने जनाएको छ।

Nuk ka komente: